दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढ्यो

२०७६ भदौ १९ गते ११:०८ फास्टखबर


काठमाडाँै, १९ भदौ ।

दुधको मूल्यमा ६ रुपैँया वृद्धि भएको छ । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको हो । बिहीबार सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिनुभयो । महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गर्नुभएको हो । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ ।

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्य मध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताउनुभयो । बढेको मूल्य शनिबारबाट लागु हुने घिमिरेले बताउनुभयो ।

यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।