आव २०७५/०७६ मा गैडाकोट नगरपालिकाको चालु खर्च ८६ प्रतिशत,पदाधिकारीहरुको दोहोरो सुविधामा मात्रै २ करोड ६५ लाख सकियो

२०७६ भदौ १७ गते १५:०६ Flashkhabar

डोलराज रानाभाट, गैडाकोट, १७ भाद्र । गत आर्थिक वर्ष २०७५÷०७६ मा गैडाकोट नगरपालिकाले चालुतर्फ ८६ दशमलव ८२ प्रतिशत खर्च गरेको छ । चालुतर्फको बार्षिक कुल बजेट ४८ करोड २७ लाख ४८ हजार ७ सय ३१ रुपैया मध्ये ४१ करोड ९१ लाख १२ हजार ७ सय ६१ रुपैया खर्च गरेको हो । चालुतर्फको ६ करोड ३६ लाख ३५ हजार ९ सय ६९ रुपैया भने फ्रिज भएको छ । भत्ता र इन्धन शीर्षकका रकम भने पुराका पुरा खर्च भएको छ ।

१९ लाख ९६ हजार रुपैया विभिन्न शीर्षकका भत्तामा मात्रै खर्च भएको छ । २ करोड ३० लाख ९० हजार ६ सय रुपैया पदाधिकारीहरुको पारीश्रमिकमा खर्च भएको छ भने ३२ लाख १० हजार तीनै पदाधिकारीहरुको बैठक भत्ता वापत खर्च भएको छ । त्यस्तै पदाधिकारीहरुको अन्य सुविधाको २ लाख ७५ हजार सहित पदाधिकारीहरुका लागि मात्रै तलव, भत्ता र अन्य सुविधा गरेर २ करोड ६५ लाख ७७ हजार खर्च भएको छ ।

कर्मचारी पारिश्रमिकमा १३ करोड २१ लाख रुपैया खर्च भएको छ भने सामाजिक सुुरक्षामा ८ करोड ५० लाख ५९ हजार, कार्यक्रम खर्चमा १० करोड ६३ लाख ७ हजार, विविध कार्यक्रम खर्चमा १ करोड १६ लाख ९४ हजार रुपैया खर्च गरेको छ ।

पोषाकमा ४८ लाख ९४ हजार २ सय रुपैया खर्च भएको छ । त्यस्तै पदाधिकारीहरुले ८ लाखको इन्धन खर्च गरेका छन् । पदाधिकारीहरुले खर्च गरेको इन्धनलाई समेत जोड्दा कुल २४ लाख रुपैया त इन्धन शीर्षकमा मात्रै खर्च भएको छ । ११ वटा मोटरसाइकल सहित नगरप्रमुखले प्रयोग गर्ने स्कार्पियो एउटा, उपप्रमुखले प्रयोग गर्ने टाटा सुमो रातो एउटा,फोहोरका लागि प्रयोग गरिने टिपर एउटा, ट्याक्टर एउटा र डोजर जेसिवि एउटा गरी कुल १६ वटा सवारी साधन गैडाकोट नगरपालिकामा रहेको तथ्याङ्क छ ।

पदाधिकारीहरुले खर्चेको झण्डै दोब्बर कार्यालयका कर्मचारीहरुले इन्धन खर्च गरेका छन् जहाँ कार्यालय प्रयोजनको इन्धनमा छुट्याइएको १५ लाख पुरै खर्च भएको छ । यस्तै इन्धन अन्य प्रयोजन भनी राखिएको शीर्षकमा छुट्याइएको १ लाख रुपैया पनि पुरै खर्च भएको छ । सवारी साधन मर्मतमा मात्रै ११ लाख २२ हजार रुपैया खर्च गरेको नगरपालिकाले ।

गत आर्थिक वर्षमा नगरपालिकाले पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन प्रसारणमा २२ लाख २१ हजार खर्च गरेको छ भने मसलन्द तथा कार्यालय सामाग्रीमा ३१ लाख ५ हजार खर्च गरेको छ । त्यस्तै विविध शीर्षकमा २७ लाख ३० हजार, सभा संञ्चालन खर्चमा १९ लाख ८५ हजार, भैपरी आउने चालुमा ११ लाख ५३ हजार, अन्य सामाजिक सहायतामा १७ लाख २१ हजार, घर भाडामा २ लाख ८९ हजार, भ्रमण खर्चमा १२ लाख सकिएको छ भने र सरसफाई सेवा शुल्कमा ५६ लाख ६८ हजार, सीप विकास तथा तालिम गोष्ठीमा ६९ लाख ९९ हजार, अनुगमन मूल्याङ्कनमा ६ लाख २३ हजार रुपैया लगायत खर्च भएको छ । चालुतर्फको कुल बजेटमध्ये ११ करोड ५३ लाख ५६ हजार रुपैया असार महिनामा आएर बल्ला खर्च भएको गैडाकोट नगरपालिकाले उपलब्ध गराएको खर्चको फाँटवारीमा देखिएको छ ।