ऋषिङ ४ भिरकोट तनहुँमा भएको तीजगित प्रतियोगितामा हिमाल आमा समूह प्रथम, सान्त्वना पुरस्कार भने अस्विकार

२०७६ भदौ १६ गते १६:२१ Flashkhabar

डोलराज रानाभाट,गैडाकोट, १६ भाद्र । प्रगति महिला समूहले आयोजना गरेको तीज गित प्रतियोगितामा हिमाल आमा समूह रमुङ्ग प्रथम भएको छ । त्यस्तै जनसेवा आमा समुह भिरकोट द्धितीय र जनजागरण आमा समूह थप्रेक तृतीय भएका छन् । फुर्सदमा महिला सीप सिकौँन, आत्मनिर्भर भएर अघि बढौन शीर्षमा प्रतियोगिता भएको थियो । ७ वटा टिम सहभागी भएको कार्यक्रममा मन्डली आमा समूह रमुङ्ग सान्तवना भएको थियो ।

प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वनाका लागि प्रदान गरिएको १ हजार १ सय पुरस्कार भने अस्विकार गरिएको छ । निर्णायक मण्डलले दिएको नतिजा चित्त नबुझेर पुरस्कार ग्रहण नगरेको उनीहरुको भनाई रहेको छ । दर्शकहरुले पनि राम्रो भनिरहेको आफूहरुको गीतलाई अनुपयुक्त स्थानमा पुर्याएपछि अपमान भएको ठानेर पुरस्कार अस्विकार गरिएको उनीहरुको भनाई छ । कार्यक्रमका सभापति एवम् आयोजकका अध्यक्ष मिना घिमिरेले विगत १० बर्षदेखि आफ्नो समुहले कार्यक्रम गर्दै आइरहेको तर पहिलो पटक यसरी पुरस्कार अस्विकार भएको बताउनुभयो । निर्णायकले गरेको निर्णयलाई आयोजकले हस्तक्षेप गर्न नमिल्ने बताउँदै घिमिरेले कम्तिमा पुरस्कार लिनुहोस् चित्त वुझेका कुरामा बसेर छलफल गरौँभन्दा पनि नमानेर हिँड्नुभएको बताउनुभयो । बालविकास माविको प्रागणमा भएको कार्यक्रमको प्रमुख अतिथि वडाअध्यक्ष भोजराज रानाभाट रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै रानाभाटले तीज गित मार्फत दिदीवहिनीहरुले उठाएको विषयवस्तुमा वडाले ध्यान दिने र महिलाहरुलाई आत्मनिर्भर गराउन गीतको माध्यमबाट सन्देश गएको उहाले बताउनुभयो । कार्यक्रममा सहभागी वाँकी समूहलाई १ हजारका दरले पुरस्कार प्रदान गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । यसरी कार्यक्रम हुँदा कार्यक्रमको खर्च पेश गरेपछि गाउँपालिकाले बजेट दिने गर्दछ । महिलाहरुको हक हित तथा सचेतना गराई सीपहरु सिकाउदै आएको आयोजक समूहले संस्कृतीको संरक्षण र महिलाहरुको प्रतिभा वाहिर ल्याउन पनि निरन्तर कार्यक्रमको आयोजना गरेको घिमिरले बताउनुभयो । गाविस हुँदा १० प्रतिशत महिलाहरुका लागि छुट्टिने बजेटदेखिनै आफूहरुले महिलाहरुका लागि आयआर्जन कार्यमा खर्च गर्दै आएको बताउनुभयो । समूहले नारी दिवस र हरितालिका तीजका अवसर पारेर प्रतियोगितात्मक कार्यक्रम गर्दै आइरहेको छ ।