प्रदेश ५ मा सत्ता पक्षका प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रमको बचाउ

२०७६ जेठ १२ गते १६:५८ Flashkhabar

बुटवल, १२ जेठ । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको नीति कार्यक्रममाथि आजदेखि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभाका विपक्षी दलका सदस्यले कतिपय विषय नीति कार्यक्रममा समेट्न नसकेको आरोप लगाएका छन् भने सत्ता पक्षका प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रमको बचाउ गरेका छन् ।

विपक्षी दल नेपाली काङग्रेसका उप—नेता विरेन्द्र कनौडियाले नीति तथा कार्यक्रममा संशोधन गर्न माग गरे पनि कुन बुँदा संशोधन गर्ने भन्ने विषय स्पष्ट गर्नुभएन । उहाँले नीति कार्यक्रमलाई कार्यान्यवन गर्न आग्रह गर्दै विकासको आधारशिला खडा गर्नुपर्छ भन्नुभयो ।

प्रदेशसभाका सदस्य तुल्सी चौधरीले नीति कार्यक्रम कार्यान्वयन भए विरोध गर्ने कुनै ठाँउ नरहेको उल्लेख गर्नुभयो । प्रदेशसभाका सदस्य कमलराज श्रेष्ठले कृषि, उद्योग र पर्यटनलाई नीति कार्यक्रमले प्राथमिकतामा राखेको जानकारी दिँदै सरकारले हचुवाको भरमा कार्यक्रम ल्याएको होइन भन्नुभयो ।

प्रदेशसभाका सदस्य फकरुद्दिन खाँनले नीति कार्यक्रममा स्वास्थ्य बीमा, लुम्बिनीमा स्टेट गेस्ट हाउसलगायतका विषयमा नीति कार्यक्रमले बोल्न नसकेको आरोप लगाउनुभयो । प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले नीति कार्यक्रमले बजेटलाई निर्देशित गर्ने भएकाले भूमिको समस्या समाधान हुने गरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले कृषि स्मार्ट कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो । छलफलमा प्रदेशसभाका सदस्य तुलाराम घर्तिमगर, भुवनेश्वर चौधरी, रामजीप्रसाद घिमिरेलगायतले नीति कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । (रासस)