रानाभाट सुबोधको मुक्तक संग्रह ‘समयका स्वरहरु’ बजारमा

२०७५ चैत १९ गते ३:३८ Flashkhabar


गैडाकोट । नेपाल रानाभाट सुबोधले मुक्तक संग्रह समयका स्वहरु बजारमा ल्याउनुभएको छ । लामो समय सरकारी सेवामा कार्यरत तनहुँको भिरकोटमा जन्मनुभएका नेपाल रानाभाट सुबोधले समयका स्वरहरु नामक मुक्तक संग्रहसँगै साहित्यमापनि अघि बढ्नुभएको छ ।

असल आमा

रोग लागेकी बुढी आमा घिन लागेर छुन्नन अरे

                                     दुखमा त परै जाओस मर्दा पनि रून्नन अरे

प्राय: सबै छोरासंग असल आमा हुन सक्छन्

                                        तर सबै आमासंग असल छोरा हुन्नन अरे

नेपाल मुक्तक प्रतिष्ठान काठमाडौ नेपालले वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा लोकार्पण गरेको उक्त चित्रात्मक सहितको मुक्तक संग्रह आठवटा विषयमा बिभाजित छ भने विषय शीर्षकमा असीवटा मुक्तकहरू समाविष्ट छन् । मुक्तकलाई जीवन्त बनाउन उमेशचन्द्र अधिकारीको चित्रकारिताले महत्वपूर्ण भूमिका खेलेको छ । भानुभक्त क्याम्पस दमौलीका प्रा.डा. ईश्वरचन्द्र वाग्लेबाट भाषा सम्पादन गरिएको र समीक्षात्मक भूमिका बिजय कट्टेल छहराले लेख्नुभएको छ ।

तनहुँको भिरकोट गाउँमा जन्मनुभएका मुक्तककार रानाभाट सुबोध गण्डकी प्रदेशको उपसचिव पदमा कार्यरत हुनुहुन्छ । सरकारी सेवासँगै उहाँले यसै मुक्त संग्रह मार्फत साहित्यमा पनि कदम चाल्नुभएको हो । समयको मागसँगै लामो आख्यानभन्दा सटिक रचनामा पाठकहरु आकर्षित हुने भन्दै मुक्तककार रानाभाटले जनजिब्रोका बोलीहरुलाई मुक्तकबाट उतार्न खोजेको बताउनुभयो ।

समय परिस्थिति

ए ! हजुर म त आजकल संविधान बिनाको देश झै भाछु

                               जत्तिले त्यत्तिलाई भाग गर्दा बॉकी रहेको शेष झैं भाछु

फेसबुक इमो ट्वीटर चलाउदा फूर्सद छैन एकछिन मलाई

                              बिना कामको ब्यस्त मान्छे समय बिताउने चेस झैं भाछु

राजधानी लगायत मोफसलका साहित्यकारहरू समेतको भब्य उपस्थितिमा लोकापर्ण गरिएको मुक्तक संग्रह आफ्ना स्वर्गीय बुवा खेमहरि रानाभाटप्रति समर्पित गरेर उहाँकै वार्षिक पुण्यमितिलाई ध्यानमा राखि चैत्र ११ गते लोकार्पण गरिएको जानकारी दिनुभयो ।

गाउँमा जन्मीएर सरकारी सेवाको उच्च तहसँगै साहित्यमा पनि कदम राखेको भन्दै पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठले थप सफलताको शुभकामना दिनुभएको छ। साथै अन्य साहित्यकार एवम् अतिथिहरुले समयका स्वरहरूको दोश्रो श्रृंखला चाँडै पढ्न पाउने आशा सहित अग्रिम शुभकामना व्यक्त गरेका थिए ।