गैंडाकोटका आङ्गिक र सामुदायिक क्याम्पसहरूको परिचय

२०७५ चैत १६ गते १६:४३ – पीताम्बर सापकोटा

१. पृष्ठभूमि

शिक्षा मानवीय जीवनको आधारभूत आवश्यकतामध्ये एक महत्वपूर्ण अङ्ग हो । नेपालको संविधान २०७२ ले पनि शिक्षालाई नागरिकको मौलिक हकमा रूपमा व्याख्या गरेको छ । शिक्षाकै माध्यमबाट मानिसले असलआचरण र व्यवहारको निर्माण गरी सामाजिक जीवनयापनका लागि आवश्यक ज्ञान र सीप हासिल गर्दछ । शिक्षामात्र त्यो शक्ति हो जसले व्यक्तिमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन, मानवीय मूल्य, मान्यता र राष्ट्रियताको संरक्षण गर्दै स्वावलम्बी र आत्मनिर्भर बनाई सर्वतोमुखी विकासमा ठोस योगदान दिने गर्दछ ।

विद्यालय समाजमा स्थापित भई व्यवस्थित किसिमले शिक्षा प्रदान गर्ने औपचारिक संस्था हो । विद्यालयको अवस्थिति समाजमै हुन्छ भने समाजबाटै विद्यार्थीहरू आउने गर्दछन् अनि विद्यालय, महाविद्यालय र विश्वविद्यालयबाट आर्जित ज्ञान र सीप समुदायकै सर्वाङ्कीण विकासमा प्रयोग गर्छन् । त्यसैले पनि विद्यालय र समाज परस्परमा अन्तर्निभर शक्तिहरू हुन् ।

माध्यमिक शिक्षा उत्तीर्ण गरी उच्च शिक्षाको विकासका लागि यस क्षेत्रमा नेपाल सरकार र समुदायको पहलमा थुप्रै महाविद्यालय वा क्याम्पस कलेजहरूको स्थापना भइसकेको छ । यी दुवै प्रकृतिका प्रयासहरूबाट स्थापित क्याम्पसहरूको चिनारीका माध्यमबाट सम्बद्व विद्यार्र्थीहरू, अभिभावकहरू र जिज्ञासु वर्गहरू लाभान्वित हुन सकून् भन्ने शैक्षिक विकासको उद्देश्यबाट अभिप्रेरित हुँदै गैडाकोट उद्योग वाणिज्य संघले दोस्रो गैंडाकोट महोत्सव २०७४ को स्मारिकामा यसै किसिमको लेख समावेश गर्ने विचार लियो । सोही बमोजिम गैंडाकोटका आङ्किक र सामुदायिक क्याम्पसहरूको चिनारीलाई प्रस्तुत गर्ने दिशामा यो आलेख केन्द्रित रहेको छ ।

२. आङ्गिक क्याम्पस

२.१ कालिका संस्कृत विद्यापीठ (क्याम्पस)

कालिका संस्कृत विद्यापीठ गैंडाकोट नगरपालिकामात्रै होइन अपितु सिङ्गो नवलपरासी जिल्लाकै एकमात्र आङ्किक क्याम्पस हो । वि.सं. २०६० साल जेष्ठ २६ गतेका सोमबार, गंगादशहराका दिन स्थापना भएको यो क्याम्पस गैडाकोट नगरपालिकाको वडा नं. ६ मा अवस्थित छ । पूर्वपश्चिम राजमार्गदेखि करिब १ कि.मी. दक्षिणपट्टि रहेको यस क्याम्पसमा ईलाका प्रहरी कार्यालय, काँग्रेसचोक र विजयचोकबाट भित्र प्रवेश गर्ने मार्गहरू हुँदै पुग्न सकिन्छ ।

२०६१ साल फागुन २६ गतेको तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय) बाट उत्तरमध्यमा (आइ.ए) तहको अस्थायी सम्बन्धन प्राप्त गरी अध्ययन अध्यापन कार्य सुरु गरेको यस क्याम्पसले वि.सं. २०६१ साल माघ २४ देखि फागुन २ गतेसम्म सञ्चालित धनधान्याचल महायज्ञको यज्ञशेषबाट करिब रु ८०,००,०००।–(असी लाख) रुपैयाँ र नेपाल सरकारका विभिन्न निकायबाट करिब १ करोड आर्थिक अनुदान सहयोगबाट भौतिक शैक्षिक पूर्वाधार तयार गर्न सफल भएको हो । वि.सं. २०६१ साल भाद्र ३१ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार मालपोत कार्यालय कावासोतीबाट वि.सं. २०६१ आश्विन १० गतेका दिन ३२ रोपनी जग्गाको भोगाधिकार प्राप्त यो क्याम्पस नौ हजार दुई सय चार वर्गफुटमा विस्तारित १७ कोठासहितको २ तले पक्की संरचनामा निर्मित भएकाले भौतिक दृष्टिले उत्पन्न सम्पन्न देखिन्छ ।

वि.सं. २०६७ साल श्रावण १ गतेबाट आङ्किकता प्राप्त यस क्याम्पसमा कक्षा ११ देखि शास्त्री (बि.ए.) स्नातक तहसम्मको पठनपाठन हुने गर्दछ । यस क्याम्पसमा संस्कृत शास्त्रीयधारअन्र्तगतका व्याकरण, साहित्य र ज्योतिषादि विषयहरूका साथै आधुनिक विषयअन्र्तगत नेपाली र अंग्रेजी विषयको अध्यापन गराइन्छ । यस क्याम्पसमा अध्ययन गर्नका लागि गुरुकुलहरू र संस्कृत मा.वि. बाट कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीहरूले सोझै भर्ना हुन पाउँछन् भने साधारण मा.वि. बाट एस.ई.ई. परीक्षा दिएका विद्यार्थीहरूका हकमा विश्वविद्यालयद्वारा सञ्चालित ५ महिने संस्कृत भाषाप्रशिक्षण कोर्सको अध्ययन गरेर उत्तीर्ण भएपश्चात् कक्षा ११ मा भर्ना हुने व्यवस्था गरिएको छ । ८५ जना विद्यार्थीहरूले नियमित अध्ययन गरिरहेको यस क्याम्पसमा शास्त्री तहमा अध्ययन गर्ने छात्रहरू का लागि मासिक रु. ९०० (नौ सय) रुपैयाँ र छात्रा तथा जनजातिका लागि मासिक रु. १०००(एक हजार) छात्रवृत्तिको व्यवस्था गरिएको छ । टिनको छानोयुक्त ६ कोठे भवनमा देशका दुर्गम र दूरदराजबाट आएका २५ जना विद्यार्थीहरूले आवासीय सुविधा प्राप्त गरिरहेका छन् । पाठ्यक्रमसम्बद्ध विषयहरूका साथै ज्ञानको दायरालाई अझ बढी फराकिलो पार्नका निमित्त संस्कृत, आर्युवेद, नेपाली, हिन्दी भाषा साहित्य र शब्दकोषका ३,५०० भन्दा बढी पुस्तकहरू भएको एक पुस्तकालय र राष्ट्रियस्तरका गोरखापत्र, कान्तिपुर र स्थानीय स्तरका विभिन्न पत्रपत्रिकाहरूको प्रबन्ध मिलाइएको छ । यस क्याम्पसमा विभिन्न विषयका १५ जना स्थायी प्राध्यापकहरू र कार्यालयीय कामकाजका लागि १० जना स्थायी कर्मचारीहरू कार्यरत रहेका छन् ।

शास्त्रीय विषयहरूको आचार्य (एम.ए.) तह र आयुर्वेदतर्फ ए.एच.ए. हुँदै बि.ए.एम.एस. तहसम्मको पठनपाठन सञ्चालन गर्नु क्याम्पसको लक्ष्य रहेको छ । शास्त्रीय विषयहरूको ज्ञान प्राप्त दक्ष जनशक्ति उत्पादन, संस्कृत भाषामा लेखिएका आयुर्वेदका मूलग्रन्थ चरकसंहिता, सुश्रत संहिता, निघण्टु आदिको पठनपाठन गर्नसक्ने जनशक्तिको उत्पादन, वैदिक धर्मसंस्कृतिको प्रचारप्रसार, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान दिनसक्ने जनशक्ति उत्पादनका क्षेत्रमा यस क्याम्पसले विशेष योगदान पु¥याएको देखिन्छ । हरिहर मन्दिर हरिहर सन्न्यास आश्रम देवघाट धामका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको आजीवन प्रधान संरक्षकत्व प्राप्त यस संस्थाका संस्थापक अध्यक्षका रुपमा समाजसेवी शिक्षाप्रेमी श्री तिलकप्रसाद सापकोटा, संस्थापक प्राचार्य श्री चूडामणि शर्मा कण्डेल र वर्तमान प्राचार्य श्री रामचन्द्र कण्डेल रहनुभएको छ ।

३. सामुदायिक क्याम्पसहरू

३.१ सूर्यभक्त पतनादेवी मेमोरियल कलेज

सूर्यभक्त पतनादेवी मेमोरियल कलेज यस क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस हो । यसलाई छोटकरीमा एस.पि.एम. कलेज पनि भन्ने गरिन्छ । समाजसेवी मदनभक्त अधिकारीका दाजुभाइहरूको संयुक्त भूमिदानमा उहाँहरूका मातापिताका नामबाटै यस कलेजको नामकरण गरिएको हो । वि.सं. २०६३ सालमा स्थापित यो कलेज गैंडाकोट नगरपालिका वडा नं. २ अन्तर्गत ईलाका प्रहरी कार्यालयदेखि ४५० मिटर पश्चिम नारायणी नदी किनारको सुन्दर, शान्त एवम् मनोरम प्राकृतिक वातावरणमा अवस्थित छ । वि.सं. २०६३ कार्तिक २० गतेको दिन त्रिभुवन विश्वविद्यालयबाट +२ (प्रविणता प्रमाण पत्र) तह र स्नातक (वि.ए) तहको सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालनमा आएको यस महाविद्यालयमा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकीका विभिन्न विषयहरूको अध्ययन अध्यापन हुने गर्दछ । विभिन्न तहका ३८० जना विद्यार्थीहरू अध्ययनरत यस संस्थामा स्थायी, अस्थायी पूर्णकालीन, करार र आंशिक गरी ४५ जना प्राध्यापकहरू कार्यरत रहेका छन् भने कर्मचारी सङ्ख्या ४ रहेको छ ।आÇनै स्वामित्वको २२ कठ्ठा जमिन, १६ कोठे टिनको छानोयुक्त भवन र १३ कोठाको २ तले पक्की संरचनासहितको शिक्षण भवन भएको यो कलेज भौतिक दृष्टिले पनि उत्तिकै सबल देखिन्छ ।स्नाकोत्तर (एम.ए.) तहका कक्षाहरूको सञ्चालन, आई.टि. लगायतका प्राविधिक विषयहरूको अध्यापन, छात्रावास निर्माण, छुट्टै पुस्तकालय भवन निर्माण, ४२ कोठे भवनको पूर्णता, यातायातका लागि बसको व्यवस्था, ३ करोडको अक्षयकोष स्थापना एवंअपाङ्क, वातावरण र विद्यार्थीमैत्री क्याम्पस बनाउने लक्ष्य संस्थाले लिएको छ ।

समाजसेवी, शिक्षाप्रेमी व्यक्तित्व श्री मदनभक्त अधिकारीको संस्थापक अध्यक्षतामा स्थापित यस कलेजका वर्तमान अध्यक्ष श्री महेन्द्रभक्त अधिकारी तथा संस्थापक प्राचार्यका रूपमा महाकवि एवं कुशल प्रशासक श्री गोविन्दराज विनोदी रहनुभएको छ ।

३.२ जनक कलेज

जनक कलेज सामुदायिक क्याम्पसहरूमध्येको दोस्रो महŒवपूर्ण कलेज हो ।प्राचीन मिथिला नरेश तथा नेपालकी राष्ट्रिय विभूति जगज्जननी सीताका पिता राजर्षि जनकको सम्मानस्वरुप नामकरण गरिएको यो कलेज गैंडाकोट नगरपालिका वार्ड नं. ४ मा रहेको छ । मातृसंस्थाजनक मा.वि. कै परिसरमा वि.सं. २०६४ साल भाद्र १७ गतेका दिन यसको स्थापना भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातक (बि.बि.एस.) तहको सम्बन्धनप्राप्त यस क्याम्पसमा व्यवस्थापन सङ्कायअन्तर्गतका विभिन्न विषयहरूको अध्ययन अध्यापन हुने गर्दछ । विभिन्न सेमेस्टरका कुल विद्यार्थी सङ्ख्या २२७ रहेको यस कलेजमा १६ जना प्राध्यापकहरू र ४ जना कर्मचारीहरू सेवारत रहेको देखिन्छ ।
विश्वविद्यालय अनुदान आयोगको ३७,५०,०००(सैतीस लाख पचास हजार) आर्थिक अनुदान सहयोग र आन्तरिक स्रोतको परिचालनबाट ९ कोठे, ३ तले पक्की संरचनामा निर्मित यो कलेज आÇनै स्वामीत्वको १० आना, २ पैसा १ दामको क्षेत्रफलमा फैलिएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेको र सबैलाई पायक पर्ने सुगम स्थानमा भएको यस संस्थाले आर्थिक रूपमा विपन्न र पिछडिएका वर्गका विद्यार्थीहरूलाई सर्वसुलभ शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य राखेको देखिन्छ ।
युवा समाजसेवी श्री कमलप्रसाद पराजुलीको अध्यक्षतामा स्थापित यस कलेजको संस्थापक प्राचार्य स्व. मुकुन्दप्रसाद काÇले र वर्तमान प्राचार्यका रूपमा शिक्षण सेवाको सुदीर्घ अनुभवआर्जन गरिसक्नुभएका श्री चेतनाथ भुषाल रहनुभएको छ ।

३.३ मुकुन्दसेन बहुमुखी क्याम्पस

योक्याम्पस गैडाकोट नगरपालिका वडा नं. १२ अन्तर्गत पूर्वपश्चिम राजमार्गदेखि करिब २०० मिटरभित्र जनता मा.वि. को निकटमा रहेको छ । इतिहासप्रसिद्ध पाल्पाली राजा मणिमुकुन्दसेनको सम्मानमा यस संस्थाको नाम मुकुन्दसेन जुराइएको हो । यसको स्थापना वि.सं. २०६६ चैत्र महिनामा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट मिति २०६७।०५।१५ गतेका दिन स्नातक तहको सम्बन्धन प्राप्त गरेको यस शैक्षिक संस्थाको औपचारिक पठनपाठन कार्यको सञ्चालन वि.संं. २०६७।०७।०७ गतेका दिनदेखि मात्रै भएको हो ।

स्नातक तहको व्यवस्थापन सङ्कायअन्तर्गतका विभिन्न विषयहरूको अध्यापन गराइने यस क्याम्पसमा हाल जम्मा विद्यार्थी सङ्ख्या ७५ मध्ये छात्रासङ्ख्या उल्लेख्य मात्रामा रहेको देखिन्छ । जनता मा.वि. रत्नराज्य मा.वि. र बसाइसराइ यसका विद्यार्थीका मुख्य स्रोतहरू हुन् ।प्राध्यापन कार्यमा यस संस्थामा स्थायी २ जना र करार ८ जना गरी जम्मा १० जना प्राध्यापकहरू छन् भने कर्मचारी भने १ जनामात्र रहेका छन् । यस क्याम्पसको भौतिक कलेवर पनि आधुनिक र सुविधासम्पन्न नै रहेको छ। १४ कोठाको २ तले पक्की संरचनायुक्त शिक्षणभवन भएको यस संस्थालाई जनता मा.वि.को स्वामित्व अन्तर्गतको १० कठ्ठा जग्गा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट शैक्षणिक क्रियाकलाप सञ्चालानार्थ भोगाधिकार प्राप्त भएको छ । दलित, विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई विशेष सुविधा प्रदान गरेको यस क्याम्पसले समयानुकूल अन्य सङ्काय र प्राविधिक विषयका कक्षाहरू सञ्चालन गर्दै जाने उदेश्य राखेको देखिन्छ ।


गुणस्तरीय शिक्षा,दक्ष तथा अनुभवी प्राध्यापक, इन्भटरको व्यवस्था, पर्याप्त शौचालय, आÇनै खेलमैदान र स्वच्छ पिउने पानीको समुचित प्रबन्ध भएको यस क्याम्पसका संस्थापक अध्यक्ष समाजसेवी श्री सत्यनारायण खनाल, संस्थापक प्राचार्य श्री कृष्णप्रसाद आचार्य र वर्तमान प्राचार्य श्री ठाकुरप्रसाद शर्मा रहनुभएको छ ।

३.४ जनमुखी आदर्श कलेज

जनमुखी आदर्श कलेज गैडाकोट नगरपालिका वडा नं. १५ अमरापुरीमा रहेको छ । यो कलेज राजमार्गदेखि अनुमानित १०० मिटर उत्तरतर्फ लक्ष्मी मा.वि. को परिसरमा अवस्थित छ । वाचन शिरोमणि पं. नारायणप्रसाद पोख्रेलको प्रमुख वाचकत्वमा सुसम्पन्न धनधान्याचल महायज्ञको यज्ञशेष र जनसहभागितामा लक्ष्मी मा.वि.को स्तरोन्नति र स्नातक तहको कक्षा सञ्चालन गर्ने स्थापनाकालीन उद्देश्यमुताविक नै यस कलेजको नाम जनमुखी रहन गएको हो तापनि प्रस्तावित नामका रूपमा अमरापुरी लक्ष्मी आदर्श कलेज राखिएको पाइन्छ ।

वि.सं. २०६५ सालमा स्थापना भई त्रिभुवन विश्वविद्यालयबाट मिति २०६६।०४।२६ गते स्नातक(बि.बि.एस.) तहको सम्बन्धन प्राप्त गरी औपचारिक पठनपाठन आरम्भ गरेको यस संस्थाले शिक्षाशास्त्रतर्फको सम्बन्धन भने २०६९।११।१८ गते प्राप्त गर्न सफल भएको हो ।
स्नातक तहको व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायअन्तर्गतका बहुविध विषयहरूको अध्यापन गराइने यस संस्थामा हाल ३०० जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । यसमा पनि छात्रका तुलनामा छात्राको सङ्ख्या अधिक रहेको देखिन्छ । प्राध्यापन कार्यार्थ स्थायी ५, करार ५ र आंशिकमा १६ गरी जम्मा २६ जना प्राध्यापकहरू कार्यरत रहेको यस संस्थामा कर्मचारी सङ्ख्या ३ देखिन्छ ।

लक्ष्मी मा.वि. बाट ५ कठ्ठा जग्गा प्राप्त यो कलेज १० कोठा २ तला भएको पक्की संरचनामा निर्मित र भौतिक पूर्वाधारले सम्पन्न देखिन्छ । कलेजमा अध्ययन गर्ने विपन्न, जेहेन्दार र अपाङ्क विद्यार्थीहरूलाई विभिन्न सामाजिक तथा परोपकारी कल्याणकारी संघसंस्थाहरूद्वारा विशेष छात्रवृत्ति उपलब्ध गराइएको छ ।

निर्माणाधीन सुविधासम्पन्न शिक्षण भवनको पूर्णता व्यवस्थित ई–पुस्तकालय , बि.बि.ए, बि.बि.एम. जस्ता प्राविधिक विषयहरूको कक्षा सञ्चालन गरी साविक अमरापुरीलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्य क्याम्पसले लिएको छ ।

समाजसेवी श्री यमुनाथ आचार्य संस्थापक अध्यक्ष रहेको यस कलेजका वर्तमान अध्यक्षमा श्री ज्ञानबहादुर पोख्रेल र संस्थापक प्राचार्य श्री केशवप्रसाद घिमिरे रहनुभएको छ ।

 

४. निष्कर्ष

यसरी गैंडाकोट नगरपालिकाअन्र्तगत स्थापना भएका आङ्किक र सामुदायिक क्याम्पसहरूको सर्वेक्षात्मक अध्ययन अवलोकन गर्दा यस क्षेत्रमा आङ्किक र सामुदायिक गरी २ प्रकारका जम्मा ५ वटा क्याम्पसहरू रहेका देखिन्छन् । ६० को दशकमा स्थापित यी सबै क्याम्पसहरूमध्ये संस्कृतधारको कालिका संस्कृत क्याम्पसले एक मात्र आङ्किक क्याम्पसको गरिमालाई अस्तित्वशाली बनाएको छ भने अन्य पूर्वोक्त क्याम्पसहरू विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारका केही निकायहरूबाट थोरै आर्थिक अनुदान, सहयोग र समुदायमार्फत सञ्चालित देखिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको सम्बन्धन लिई सञ्चालनमा रहेका क्याम्पसहरूले व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायअन्र्तगतका विषयहरू अध्यापनमा आपूmलाई गतिशील बनाएका छन् । गुणस्तरीय शिक्षामा जोड दिँदै युगानुकूल प्राविधिक विषयहरूको कक्षा सञ्चालन गर्ने दीर्घकालीन योजनामा रहेका क्याम्पसहरू भौतिक पूर्वाधारकादृष्टिले सुविधासम्पन्न नै रहेका देखिन्छन् । क्याम्पसहरूमा विद्यार्थी भर्नादरमा वृद्धि गर्दै स्नाकोत्तर तहको कक्षा सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । शिक्षाका माध्यमबाट गैंडाकोट नगरीलाई शैक्षिक दृष्टिले आत्मनिर्भर बनाउनु हामी सबैको ध्यान केन्द्रित हुन आवश्यक छ । अन्त्यमा आलेखका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराई सहयोग गर्नुहुने समस्त क्याम्पस प्रमुखहरूमा करबद्ध कृतज्ञता प्रकट गर्दछु ।

(गैंडाकोट–९ निवासी लेखक सापकोटा, कालिका संस्कृत विद्यापीठमा नेपाली विषयको उपप्राध्यापक पदमा सेवारत हुनुहुन्छ । यो रचना दोस्रो गैँडाकोट महोत्सबको स्मारिकाबाट साभार गरिएको हो )