गैँडाकोट, १३ चैत । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यले आफ्नो उपचार खर्चमा २० प्रतिशत छुट पाउने भएका छन् । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल – पुरानो मेडिकल कलेज ) र सुम्निमा ग्रामीणबीच सम्झौता गरिएको छ । कलेज अफ मेडिकल साइन्सेजका प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठ र सहकारी अध्यक्ष छायादत्त पाण्डेद्धारा हस्ताक्षरित स्मरणपत्र प्रदेशसभा सदस्य कृष्ण चन्द्र नेपालीको सान्निध्यमा आदान प्रदान गरिएको थियो ।

सुम्निमा ग्रामीणका सदस्य मात्र नभएर परिवारका सदस्य पनि लाभान्वित हुने पुरानो मेडिकल कलेजका मार्केटिङ म्यानेजर दुर्गा न्यौपानेले बताउनुभयो । गर्भवती महिलाको हकमा आधारभूत स्वास्थ्य परिक्षण तथा प्रसुति सेवा, पाठेखर, आँखाको आधारभूत परिक्षण निशुल्क हुने स्मरणपत्रमा उल्लेख गरिएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले सुम्निमा ग्रामीणले वित्तिय सचेतना मात्र नभएर अब सदस्य र सदस्यका परिवारको स्वास्थ्य सुरक्षाका तर्फ जोड दिन सुरु गरेकोमा प्रशंसा गर्नुभएको थियो ।

 

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले सहकारीहरु विपी कोइरालाको गरिबलाई झुपडी, दुहुनो गाई र मनमोहन अधिकारीको आफ्नै गाउँ आफैँ बनाउँको नारालाई आत्मसाथ गर्दै यहाँ सम्म आइपुगेको बताउनुभयो । पौडेलले अब सहकारीहरु उत्पादनशील क्षेत्रमा लगानीका लागि सचेत बन्न सुझाब दिनुभएको छ ।

 

कार्यक्रमका विशिष्ट अतिथि नेफ्स्कुन प्रतिनिधि भरत दवाडी, गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, जिल्ला ऋण सहकारी संघका अध्यक्ष माधवप्रसाद गौतम, सहकारी समन्वय मञ्चका अध्यक्ष वेदप्रसाद गौडेल, मौलाकालिका वनका अध्यक्ष काशिनाथ कंडेल, संस्थापक अध्यक्ष श्रीनिवाश पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

रजत महोत्सबको अवसरमा सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ वर्षको यात्रालाई समेटेर सुम्निमा ग्रामीण रजत ग्रन्थ विमोचन गरिएको छ । रजत महोत्सवको समापन कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु, पूर्व अध्यक्षहरु, विभिन्न कार्यक्रमका विजेताहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष छायादत्त पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष पाण्डेले सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्थाले आगमी दिनमा अझबढी सदस्य मुखी विभिन्न कार्यक्रमका साथ अघि बढ्ने बताउनुभयो ।

२०५० सालमा दैनिक १ रुपैँयाको बचत संकलन गर्दै अघि बढेको संस्थाले हाल करिब ९ करोडको सम्पत्ती बनाएको छ । २६ सय सदस्य रहेको यस सहकारीको शेयर पुँजी १ करोड २३ लाख रहेको छ ।