रत्ननगरको मनिखोला पार्कलाई पर्यटकीय गन्तव्य बनाउने दुई सांसदको अठोट, ५० लाख बजेट विनियोजन

२०७५ चैत १२ गते १४:५८ Flashkhabar

गैडाकोट, १२ चैत । रत्ननगरमा रहेको मनिखोला पार्कलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । त्यसका लागि प्रदेश सांसद कृष्णप्रसाद खनाल र कन्चन खनालले सक्रियता देखाउनुभएको छ ।

सरकारले विनियोजन गरेको ५० लाख रुपैयाको सही सदुपयोग गरी आर्कषक पर्यटकीय गन्तव्य बनाउन सांसदहरु लाग्नुभएको हो । रत्ननगर ११ मा रहेको पञ्चकन्या सामुदायिक वन क्षेत्रका सो पार्क मा सौराहामा आउने पर्यटकलाई जीप सफारी गराउने योजनाका साथ पूर्वाधार निर्माण गर्ने योजना अघि बढाइने भएको हो ।

जीप सफारीका लागि जंगलमा रुट बनाउन र पर्यटक लक्षित कफि पसल र साना होटल बनाउने तर्फ ध्यान केन्द्रित गर्न साँसद खनालले सामुदायिक वनलाई आग्रह गर्नुभएको छ । मंगलवार प्रदेश सांसद कृष्णप्रसाद खनाल,कन्चन खनाल,पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डे,मेयर नारायण वनले सो पार्कको स्थलगत अबलोकन गर्नुभएको छ । उक्त पार्कमा अहिले वनभोज स्थल,४ वटा पोखरी,एउटा मिनी चिडिया घर रहेका छन ।