मेयरको प्रेसर नापेर सुरु गरिएको स्वास्थ्य शिविरमा ५२० जनाद्वारा स्वास्थ्य लाभ

२०७५ चैत ९ गते १६:०० Flashkhabar


गैँडाकोट, ९ चैत । गैँडाकोट २ मा रहेको सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रजत महोत्सवका अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोग रहेको थियो । निः शुल्क स्वास्थ्य शिबिरमा ५ सय २० जनाले सेवा लिएका छन् ।

पुरानो मेडिकल कलेजका तर्फबाट बरिष्ठ छाला यौन तथा कुष्ठरोग बिशेषज्ञ प्रा.डा महेश माथुर, बरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा माधब घिमिरे, बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ प्रा.डा प्रबिन कुमार, बरिष्ठ दन्तरोग बिशेषज्ञ प्रा.डा पाशा, बरिष्ठ बाल रोग विशेषज्ञ अतनु पान, बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ प्रा.डा. हेमन्त कुमार गुप्ता, बरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डा. अपार पोख्रेल, बरिष्ठ जनरल फिजिसियन डा. जित प्रसाद घिमिरे सहित ३० जनाको प्राविधिक टोलीले विभिन्न ८ वटा बिभागमा बिशेषज्ञ सेवा प्रदान गर्नुभएको हो ।


निशुल्क स्वास्थ्य शिबिरमा पुरानो मेडिकल कलेज र ट्याब्लेट इन्डिया फर्मास्युटिकल्सले निशुल्क औषधी उपलब्ध गराएको थियो । साथै श्रीयम सप्लायर्स र टाइम फर्मास्युटिकल्सले समेत औषधि शौजन्य गरेका थिए ।

गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले संस्थाले सामाजिक कार्य गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । पौडेलले संघसंस्था समाजिक कार्यमा सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारीले आफ्नो २५ बर्ष पुरा गरेको रजत जयन्तीको उपलक्ष्यमा सञ्चालन गरेको कार्यक्रम संयोजक सूर्य प्रसाद घिमिरेले बताउनुभयो । चिकित्सक र विरामीबीचको बढ्दो दुरी र चिकित्सकले पैसा बिना विरामी हेर्दैनन भन्ने मनोविज्ञान चिर्नका लागि पनि यस्ता कार्यक्रमले सहजीकरण गरेको घिमिरेले बताउनुभयो ।

शार्क क्षेत्रको पहिला नेपाली सर्जिकल अस्पताल तथा निजि क्षेत्रको नेपालकै पुरानो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्नेगरेको र यसलाइ आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडी बढाइने कुरा अस्पतालका प्रमुख सन्चालक अधिकृत प्रा.डा सुप्रभात श्रेष्ठले बताउनुभयो ।


कार्यक्रममा डा महेश माथुर, डा माधव घिमिरे आदिले मन्तब्य राखेका थिए । शिबिरको औपचारिक सुरुवात डा.माधब घिमिरेले नगर प्रमुख पौडेलको रक्तचाप जाँच गरेर गर्नुभएको थियो ।

सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यको आर्थिक उपार्जनका लागि मात्र होइन सदस्यको स्वस्थ जीवन र समृद्धिका लागि स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका रहन्छ भनेर यस्ता कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष छायादत्त पाण्डेले बताउनुभयो ।