गैँडाकोट नगरपालिका वाड नं. १ चैत्र ९ गते बालमैत्री वडा घोषणा हुँदै

२०७५ चैत ५ गते १६:३३ Flashkhabar


गँैडाकोट, ६ चैत्र । गैँडाकोट नगरपालिका वाड नं. १ ले बालमैत्री वडा भएको छ । बालमैत्री वडाको रुपमा चैत्र ९ गते घोषणा सभा कार्यक्रमको आयोजना गरिएको छ । बालमैत्री वडाका लागि आवश्यक सूचकांक पूरा भएको गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । गँैडाकोट नगरपालिकाकै पहिलो बालमैत्री वडाको रुपमा गैँडाकोट १ घोषणा हुन लागेको हो । घोषणा सभा कार्यक्रम नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयको प्रागंणमा हुने छ ।

बाल संरक्षण समितिका सदस्य जगन्नाथ उपाध्यायले बाल बचाउ सूचकको अवस्था, बाल संरक्षण सूचकको अवस्था, बाल विकासका सूचकको अवस्था, बाल सहभागिताको सूचकको अवस्था र संस्थागत सूचकहरुपूर्ण भएको जानकारी दिनुभयो ।

केही दिन अघि जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माको नेतृत्वको टोलीले अनुगमन गरी बालमैत्री वडाका सूचकांक पूरा भएको पाइएको जनाएको थियो । जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माले बालमैत्री वडाका लागि भएको कामको प्रशंसा गर्नुभएको छ । उहाँले शून्य बालश्रम, लागुपदार्थ न्यूनिकरणका सन्दर्भमा राम्रो अवस्था पाइएको बताउनुभयो ।

यस्तै जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद लम्सालले पनि वडा बालमैत्री वडा घोषणा गर्न आवश्यक सूचकांक पूरा भएको पाइएको बताउनुभयो ।

अनुगमन टोलीमा रहनुभएका बर्दघाट सुस्ता पूर्वका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले अनुगमनका क्रममा करिब ९८ प्रतिशत सूचकांक पूरा भएको पाइएको बताउनुभएको थियो ।

News source : vijayafm 101.6