नेवाः मिसा दबु गैडाकोट नगर कमिटीको आयोजनामा इही(बेल विवाह) सम्पन्न

२०७५ फागुन २६ गते ६:२२ Flashkhabar

गैडाकोट फाल्गुण २६

नेवाः मिसा दबु गैडाकोट नगर कमिटीको आयोजनामा दुई दिनसम्म नेवारी वैदिक परम्पराअनुसार रजस्वला नहुँदै कन्याको बेल विवाह नेवारी परम्पराअनुसार इही यज्ञ अर्थात् बेलविवाह कार्यक्रम पण्डित हरीशरण राजोपाध्यायबाट फाल्गुण २५ गते सम्पन्न भएको छ । श्रीराम पार्टी प्यालेस गैडाकोटमा सम्पन्न भएको सो कार्यक्रममा ११ जना कन्याहरूको सहभागी रहेको थियो । २०७५ माघ १९ गते गठन भएको नेवः मिसा दबू गैडाकोट नगरकमिटिले आफ्नो पहिलो कार्यक्रम बेलविवाह जस्तो धार्मिक कार्यबाट छोटो अवधिमा गर्न सफल भएको र सम्पूर्ण कन्या अभिभावकहरू लगायत अन्य उपस्थित महानुभावहरू पनि सन्तुष्ट भएको जानकारी सो संस्थाका अध्यक्ष सीता श्रेष्ठले बताउनु भएको छ । आयोजना कार्यक्रममा भिम धः गुठी,गैडाकोट,झिगु भिमसेन गुठी महिला समूह,भेडावारी, गैडाकोट नेवा गुठी, गैडाकोट ,भिमसेन सि गुठी भेडाबारी लगायत विभिन्न संस्थाहरू तथा ब्यक्तिहरूले सहयोग गरेको थियो । नेवाः मिसा दबु गैडाकोट नगर कमिटीको सो कार्यक्रममा गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलज्यू, गैडाकोट वडा नं. २ का वडाअध्यक्ष ध्रुवराम पौडेल, वडा नं. १ वडाअध्यक्ष हरीप्रसाद सापकोट, समाजसेवी षडानन्द लामीछानेले सो कार्यक्रमको अवलोकनको लागि उपस्थिति जनाउनु भएको थियो । कार्यक्रमको दोश्रो दिन खिर सहित नगद सौजन्य मोतीकुमार श्रेष्ठ, भेडाबारी ले गरेको थियो इप्रासी तथा बेलको सौजन्य भेडाबारीका काजीबाबु श्रेष्ठले गरेको थियो ।

नेवाः मिसा दबु गैडाकोट नगर कमिटीका अध्यक्ष सीता श्रेष्ठ भन्छिन“आर्थिक अवस्था कमजोर हुँदा पनि संस्कृति परम्परा बचाउन खर्च गरेर घरघरमा कन्याको बेलविवाह गर्दा न्यून आय भएका परिवारलाई बोझिलो हुने र खर्च जुटाउन समस्या पर्ने भएकाले आर्थिक भार रोक्न सामूहिक रुपमा बेलविवाह गर्ने चलन ल्याएका हौं ।” “बेलविवाह नेवार समुदायको पुरानो संस्कृति हो,” उहाँले थप्नुभयो, “यसको जर्गेना गर्नु हामी सबैको दायित्व हो ।”

इही यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ सर्वगुण सम्पन्न ज्वाइँका रुपमा सुवर्णकुमारका प्रतीक बेलसँग कन्याको विवाह हुन्छ । बिजोर वर्षका साइतमा बेलविवाह हुने गरेको मिसा दबुका अध्यक्ष सीता श्रेष्ठले बताउनुभयो । नेवारी समुदायमा भने बेलविवाहलाई इहीयज्ञ भनिन्छ ।यस इही यज्ञ सहयोग गर्नु हुने विभिन्न संस्था तथा ब्यक्तिहरू तथा दिनरात खटनु हुने ब्यक्तित्व सन्तकुमार श्रेष्ठ, अमृत श्रेष्ठ,योगेन्द्र नारायण श्रेष्ठ, शिवजंग श्रेष्ठ,कृष्णकुमार श्रेष्ठ, ज्ञानुप्रसाद श्रेष्ठ,सुरेन्द्रकुमार श्रेष्ठ, काजीबाबु श्रेष्ठको अथक योगदानले यो कार्यक्रम सफल भएको यस संस्थाका अध्यक्ष सीता श्रेष्ठले बताउनु भएको छ ।