श्रीगजेन्द्र मोक्ष नारायण भगवत प्राण प्रतिष्ठा महोत्सव यही फागुन १९ गतेबाट हुने

२०७५ फागुन १३ गते १६:४८ Flashkhabar

गैँडाकोट । श्रीगजेन्द्र मोक्ष नारायण भगवत प्राण प्रतिष्ठा महोत्सव यही फागुन १९ गतेबाट हुने भएको छ । सोही अवसरमा अष्टोत्तरशत श्रीविष्णुपुराण ज्ञान महायज्ञ समेत हुने भएको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा त्रिवेणी धाममा रहेको श्रीगजेन्द्रमोक्ष नारायण मन्दिरको निर्माण सम्पन्न भइ समुद्घाटन हुन लागेको हो । यसकै पूर्व सन्ध्यामा गैँडाकोट नगरपालिकामा आइपुग्नुभएका स्वामी कमलनयनाचार्य ( मुक्तिनाथ बाबा) गण्डकी प्रदेशकै द्वारको रुपमा रहेको गैँडाकोटले यस धार्मिक कार्यको शोभा बढाइदिन आग्रह गर्नुभएको छ । यसैगरी स्वामी कमलनयनाचार्यले विश्वमै शालग्राम पाइने कालिगण्डकी, नारायणीको संरक्षणका लागि स्थानीय तहहरुलाई आग्रह समेत गर्नुभएको छ ।

स्वामी कमलनयनाचार्यले हिन्दुधर्मको संरक्षणका लागि आफ्ना सन्ततिमा हिन्दुसंस्कार सिकाउनु आवश्यक भएको बताउनुभयो । हिन्दुधर्मका बैज्ञानिकतालाई बुझेर संस्कार र संस्कृति अवलम्बन गर्नुपर्ने उहँको भनाइ छ । हिन्दुसंस्कार र संस्कृति सिकाउने पाठशालाहरुको संरक्षणका लागि पनि सबैमा आग्रह गर्नुभएको छ ।

यस्तै विराटनगर पाञ्चाली मन्दिरका स्वामी महाराज अच्युताचार्यले स्वामिज्यूले धार्मिक यज्ञमात्र नभएर सामाजिक, सांस्कृतिक कार्यहरु विभिन्न स्थानमा गरिरहुनभएको बताउनुभयो । साथै स्वामी कमलनयनाचार्यले मुक्तिनाथ देखि गजेन्द्रमोक्षधामसम्म धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विभिन्न कार्यक्रम गरिरहनुभएको  र त्यसैको एक उदाहरण गजेन्द्रमोक्षधाम रहेको बताउनुभयो ।

यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललले गैँडाकोट नगरपालिकाको तर्फबाट यस धार्मिक महायज्ञ, धार्मिक पर्यटकीय  क्षेत्र बनाउने यस अभियानमा सक्दो सद्भाव रहने बताउनुभयो । नगरप्रमुख पौडेलले गैँडाकोट नगरभित्रका लक्ष्मीनृसिंह दिव्यधामजस्ता मठमन्दिरको प्रचारप्रसारका लागि पनि स्वामी समक्ष आग्रह गर्नुभएको छ ।

यसैगरी गैँडाकोट उपप्रमुख विष्णुकुमारी कंडेलले पाश्चात्य धर्महरुबाट हिन्दुधर्ममाथि प्रहार भइरहदा स्वामीजीले खेल्दै आएको भूमिकालाई प्रशंसा गर्र्दै अझै नेतृत्वका लागि आग्रह गर्नुभएको थियो ।

गैँडाकोट नगरपालिकाको सभाहलमा भएको भेटघाट कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ बर्दघाट सुस्तापूर्वका अध्यक्ष अमृत भट्टचन, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यष शालिकराम सापकोटा, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

श्री गेजेन्द्र मोक्ष नारायण भगवानको मन्दिर विनयी त्रिवेणी गाउँपालिका ६ मा रहेको छ । वि.सं. २०६८ साल चैत्र रामनवमीका शुभावसरमा शिलन्यास गरिएको थियो ।