प्यारालाईसिसको उपचार

२०७५ फागुन ५ गते १६:१९ Flashkhabar

डा हेमराज कोइराला

पक्षाघात, प्यारालाईसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायुतन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास ( मस्तिष्कघात) को कारणले हुने गर्दछ । मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्तनली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषकतत्वहरु र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा स्नायु तन्तुहरु मर्न जाने समस्यालाई मस्तिष्कघात भनिन्छ ।

विश्व स्वस्थ्य संगठनले सन् २०१७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड सत्तहत्तर लाख (१७.७ मिलियन) मानिसहरू मस्तिष्कघातको चपेटामा पर्ने गरेका छन् । जसमध्ये पैसठ्ठी लाख अकालमै यो लोक छोड्न बाध्य छन् भने बाँचेकामध्ये आधा रोगीहरू दीर्घकालीन पक्षाघात (हेमीप्लेजीया) भएर नरकीय जीवन जिउन बाध्य छन् । बाँचेकाहरूमध्ये दीर्घकालीन विकलांकीहरूलाई छाडेर अरु १६ लाख चिकित्सकीय सेवापश्चात् सामान्य जीवनमा फर्किएका छन् भने ३८ लाख सामान्य विकलांकताका ( हेमीपेरेसिस) साथ बाँचिरहेका छन् ।

एक अनौपचारिक अध्ययनले दर्शाएअनुरुप नेपालमा पनि हरेक वर्ष ५० हजार व्यक्तिलाई मस्तिष्कघात हुने गरेको पाइएको छ, जसमध्ये १५ हजारको मृत्यु हुन्छ । हृदयाघातपछि मृत्युको दोस्रो मुख्य कारण बनेको मस्तिष्कघात अस्पतालहरुको सघन उपचारकक्ष (आईसीयू) प्रवेशको र विश्वव्यापी विकलांगताको प्रमुख कारण पनि हो । अप्रत्यासितरुपमा हुने, तत्कालै ज्यान पनि जाने र बाँचीहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्यालाई बेलैमा चिन्न सके यसबाट हुने मृत्युलाई न्यूनीकरण गर्न र रोग लागेर नारकीय जीवन बचिरहेकाहरुलाई सामान्य जीवनमा यथोचित पुनःस्थापना गर्न सजिलो हुन्छ ।

सम्बन्धितसमाचार
गाउँको सिंह : केन्द्रको चुम्बकीय कुर्सी
पुल्चोकमा ऋतिकको दहन (स्मरण)
पाञ्चालीभित्र कवि कृष्ण कँडेल (कृति चर्चा)

मष्तिस्कघातपश्चात् बाँच्नेहमा देखिने विकलांकता घातले मष्तिस्कलाई पु¥याएको क्षति, घातको क्षेत्र र प्रकृतिको आधारमा निर्धारित हुन्छ । घात हुँदा नष्ट भएका स्नायुतन्तुहरुले गर्ने कार्य सुचारु हुन नसक्दा शरीरको एकापट्टी नचल्ने (पक्षाघात) र शरीर, मन र भावनासँग सम्बन्धित समस्याहरु देखा पर्दछन् ।

कसलाई हुने संभावना ज्यादा छ ?

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएकाहरु, उपरोक्त रोगहरुका औषधि कहिले खाने कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जिउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसंचारसम्बन्धी समस्या जस्तै, एट्रियल–फ्रिविलेशन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मष्तिस्कघातको जोखिम उच्च हुन्छ ।

यसबाहेक रक्तस्रावसम्बन्धी समस्या जस्तै, घाउ हुँदा रगत बगेको बगेकै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्र्भ िनरोधक औषधि खाने महिलाहरु, परिवारमा मष्तिस्कघातको इतिहास भएकाहरु, हालसालै अथवा पुरानो मष्तिस्क संक्रमणले ग्रस्त रोगीहरुमा मस्तिष्कघात ज्यादा देखिएको छ । यसका अलावा श्रम र व्यायाम सम्मेलित नभएको निष्क्रिय जीवन जिउनेहरु, धुम्रपान र मद्यपान गर्नेहरु, मोटोपन, रेशा र चोकर नभएको मीठो खानेकुराको दीर्घकालीन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आफ्ना अडान र निर्णयहरुप्रति अडिग रहने टाइप ‘ए’ व्यक्तित्व भएका व्यक्तिहरु यो रोगको उच्च जोखिममा पर्दछन् ।

मस्तिष्कघातपछिका समस्याहरु

सघन तथा आपत्कालीन उपचारपश्चात् पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन । बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामान्य, माध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिनपर्ने खालका विकलांकता देखा पर्दछ । मष्तिस्कघातले आघात पु¥याएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरु देखा पर्दछ, जसमध्ये प्यारालाइसिस मुख्य हो । अन्य समस्यहरुमा एकापट्टिका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्र्पशाद शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरणशक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मकरुपमा कमजोर हुनेजस्ता समस्या आउन सक्छ ।

उपचार तथा पुनःस्र्थापना

मस्तिष्कघात हुनेबित्तिकै सर्वप्रथम आपत्कालीन उपचार गराउनुपर्ने हुन्छ । आपत्कालीन व्यवस्थापनपश्चात् फेरि मस्तिष्कघात हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित रुपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । घातपछि देखिएको विकलांकता(पक्षाघातको ) निवारण गर्न पुनःस्थापना नितान्त जरूरी छ । सही समयमा पुनःस्थापना हुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनबाट बचाई दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ । पुनःस्थापना पनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङस्टाफ, स्पीचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरू, घरका सदस्यहरु र सहयोगीहरुको सामूहिक प्रयास हो । पुर्नस्थापना कोही उपचार विधिहरु स्थिति हेरेर सघन उपचार कक्षबाटै सुरू गर्नुपर्ने पनि हुन सक्छ ।

आपत्कालीन व्यावस्थापनपश्चात् पक्षाघात भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हँुदैन, जतिसक्दो चाढो पुनःस्थापना केन्द्रमा लगेर उपचार गराउनु पर्छ । केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मष्तिस्कघातले ल्याएको विकलाङ्गतालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरिथरिका थेरापी र विधिहरुको प्रयोग गर्छन् । तीमध्ये निम्न विधिहरूको यथोचित प्रयोग हुन नितान्त जरूरी छ ।

फिजीयोथेरापीः

भौतिक उपचार विधिहरूलाई आधार बनाएर दिइने यो चिकित्सा पद्घतिको पक्षाघातको पुनःस्थापनामा ठूलो भूमिका छ । यसअन्तर्गत थरिथरीका व्यायाम तथा थरिथरीका विद्युतीय तरंगहरू प्रवाह गराएर गरिने उपचार विधिहरू पर्दछन् । प्यासिभ एक्सरसाइज, एक्टिभ असिस्टेड, एक्टिभ रेसिस्टेड पिएनएफ एक्सरसाइज, स्ट्रेचिङ्ग, स्टे«न्थेनिङ्ग एक्सरसाइज, व्यालेन्सिङ्ग एक्सरसाइज, कोअर्डिनेशन एक्सरसाइज, मशल स्ट्युमुलेशन, गेट टे«निङ्गजस्ता उपचार विधिहरू यसअन्तर्गत पर्दछन् ।

अकुपंचरः

अकुपंचर परम्परागत चाईनिज उपचार पद्धतिको एउटा आयाम हो । शरीरका विभिन्न बिन्दुहरूमा पातलो सियो राखेर विद्युतीय तरंगहरू प्रवाह गराएर वा नगरिकनै तन्तुलाई उत्तेजित गराई उपचार गरिन्छ । पक्षाघातको पुनःस्थापनामा यस विधिको पनि पृथक भूमिका छ । घातको साथ साथै हुने तन्तुहरूको दुखाई कम गर्न पनि यसले सहयोग गर्छ ।

तेल मालिसः

तेल मालिस गर्दा शरीरका तन्तुहरूलाई प्यासिभ एक्सरसाइज हुनुका साथै रक्त प्रवाह सुचारू हुन्छ र रोगी चाँडै लाभान्वित हुनपुग्छ । तर, मालिस तालिम प्राप्त व्यक्तिद्वारा नै गराइनु पर्छ । पक्षाघातको प्रकृतिअनुसार मालिसको तरिका छुट्टाछुट्टै हुन्छ ।

प्राकृतिक उपचारः

प्राकृतिक तरिकाले, प्राकृतिक सम्पदाको उपयोग गरी गरिने जडिबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदि उपचार पद्घतिहरू रोगको प्रकृति र अवस्था हेरेर दिइन्छ । यी उपचार पद्दतिहरुले छालामा रहेका स्नायु रिसेप्टरहरुलाई उत्तेजित गराएर कमजोर मांसपेशीहरुलाई मजवुत बनाउँछन् ।

मनोपरामर्शः

पक्षाघात शारीरिकमात्र नभएर मानसिक समस्या पनि हो । मानसिक तथा भावनात्मक अस्वस्थतालाई न्यूनीकरण गर्न मनोपरामर्शको ठूलो हात छ । मनोपरामर्शका विज्ञद्वारा मनोपरामर्श गराइनु पर्छ ।

स्पीच थेरापी:
मस्तिष्कघात भएका आधा रोगीहरुलाई बोली जाने समस्या पनि हुन्छ । बोली भएकाहरूको पनि पक्षाघातका कारण बोली अस्पष्ट हुनसक्छ । यसका लागि स्पीच थेरापी गर्नुपर्छ ।

हेरचाह:

पक्षाघातले पीडितहरुलाई व्यक्तिगत हेरचाहको ठूलो जरूरी हुन्छ । विशेष गरी दिसापिसावको हेरचाह, कफ र ¥यालको संहार, सफासुग्घर राख्नु आदि अत्यन्त जरूरी छ । नसिङ केयर र परिवारकै सदस्यले गर्ने केयर यसअन्तर्गत पर्दछन् । बिरामीको हेरचाह जति राम्रो भयो त्यति चाँडोे सञ्चो हुन्छ ।

(लेखक : योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन् ।)