महाकवि देवकोटाद्धारा मृत्युशैयामा रचित कविता

२०७५ पुष १९ गते १६:४८ Flashkhabar

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी डिल्लिबजार, धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरह्यो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।

 

शिक्षा

देवकोटा वि. सं. १९६६ मा जन्मिँदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे; जनताहरूले शिक्षा नपाउन् तर धेरै चोटिको प्रयत्‍नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कूलमा भर्ना गरिदिए। देवकोटा दरबार हाई स्कूलमा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए। सन् १९२५ मा देवकोटा त्रि-चन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे ।

साहित्यिक यात्रा

देवकोटा बहुमुखी प्रतिभका धनी एवम् असाधारण लेखक थिए; जसले आफ्नो दस वर्षको उमेरदेखि कविता लेखनको शुरूवात गरी छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निबन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक ´मुनामदन` यिनी मरेको पाँच दशक पछिसम्म पनि साझा प्रकाशनद्वारा अत्यधिक बिक्री हुने कृतिमा पर्दछ। ´मुनामदन` नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एक पटक वि.सं. २०१३मा नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनैका पालामा नेपालको ठूलो अनि पहिलो त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो। उनले शाकुन्तल महाकाब्य तीन महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुञ्जिनी एकै रातमा लेखे। उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याए। प्रचलित लोक भाका अर्थात झ्याउरे छन्दमा लेखिएको कृति मुनामदनले नेपाली साहित्यमा संस्कृतको प्रभावको अन्त्य गर्‍यो। “पागल” कविता उनको अर्को महान सिर्जना हो; जुन कवितामा उनले आफूलाई पागल भन्नेहरूलाई नै कवितात्मक शैलीमा जवाफ दिएका छन्| [१] नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखन स्वच्छन्दवादका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए। [२] देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू ´शारदा` मासिकमार्फत जनमाझ पनि आए।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्दा, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा ´कविता` थियो र अर्को ´चुरोट` थियो। लेखेका बेला उनी आफ्नै पाण्डूलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।

लाइब्रेरी पर्व

लाइब्रेरी पर्व

वि.सं. १९८७/८८ ताका जोगवीर सिंह, हरेकृष्ण श्रेष्ठ, बैकुण्ठप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलिया, चित्तघर उपासकलगायत ४५/४६ जनाको प्रयासमा लाईब्रेरी खोल्न सहमतिको माग गरे। आखिर रामचन्द्र अधिकारीद्वारा राणा प्रधानमन्त्री भीमशमशेरलाई सूचना मिल्यो र रोक लगाई प्रत्येकलाई १० रूपैयाँ दण्ड गरियो र आधा रकम सूचना गर्ने रामचन्द्रलाई पुरस्कार दिइयो।

व्यक्तिगत जीवन

१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । वि. सं. १९८५ मा उनको पहिलो सन्तान छोरी सावित्री र वि.सं. १९८९ मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म वि.सं. १९९३ मा भएको थियो । कानुनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के; जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नु पर्‍यो। दुई वर्ष भित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती वियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्कलाई समेत चोट पुर्‍यायो । उनले केही समय मानसिक संस्थामा पनि बिताए ।

अन्तिम वर्षहरू

दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं२०१५)मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिएपछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.सं.२०१६ साल भाद्र २९ गतेका दिन उनको दुखद निधन भयो ।

शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए- “मृत्यु मेरो अगाडि छ । म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफूलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भएँ, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।” जीवनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने ‘मैले आफ्नो जिन्दगी हरीनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटि हालेँ !’ अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कवितामार्फत यसरी व्यक्त गरे ।[३]

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ॥१॥
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥
महामरूमा कणझैँ म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैँ छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

देवकोटाका केही मुख्य कृतिहरू

१. कविता सङ्ग्रह: पहाडी पुकार ( वि.सं. २००५)•पुतली(बाल कविता)• वि.सं. २००९)• भिखारी ( वि.सं. २०१०) •सुनको बिहान ( वि.सं.२०१०) •छहरा (वि. सं. २०१२)• जन्मोत्सव र मुटुको थोपा ( वि.सं.२०१५) • मृत्युशैयाबाट ( वि.सं.२०१६) •चिल्ला पातहरू ( मृत्युपश्चात प्रकाशित, वि.सं. २०२१) •गाईने गीतहरू (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४) •मनोरञ्जन (मृत्युपश्चात प्रकाशित, वि.सं. २०२४) • भावना गाङ्गेय (मृत्युपश्चात प्रकाशित, वि.सं. २०२४)• आकाश बोल्छ (मृत्युपश्चात प्रकाशित, वि.सं. २०२५) • छाँगासँग कुरा (मृत्युपश्चात प्रकाशित, वि.सं. २०२६), •लक्ष्मी कविता सङ्ग्रह ( मृत्युपश्चात प्रकाशित, वि.सं. २०३३) • लक्ष्मी गीत सङ्ग्रह ( मृत्युपश्चात प्रकाशित, वि.सं. २०४०)

२.खण्डकाव्य : मुनामदन ( प्रकाशन वर्ष, वि.सं. १९९१) , राजकुमार प्रभाकर ( वि.सं. १९९७), कुञ्जिनी ( वि.सं. २००२), वसन्ती गीतीकाव्य( वि.सं. २००९), मैना ( वि.सं. २००९), सुन्दरी जर्पिना ( वि.सं. २००९), रावण जटायु युद्ध ( २०११) , म्हेन्दु ( २०१५), लुनी ( २०२३), सीताहरण ( २०२४), मायाविनि सर्सी ( २०२४), नवरस कोश काव्य ( २०२५), मैना ( पुन: सम्पादन २०३९)।

३.निबन्ध: आषाढको पन्ध्र(१९९३,शारदा), भलादमी, फूल, पहाडी जीवन, हाई हाई अङ्ग्रेजी, के नेपाल सानो छ, कला र जीवन, कल्पना, साधुको महात्म्य, निद्रा श्रीपञ्चमीको दिन २०१०, साँढे,मेरो पाल्पा तानसेन तर्फको यात्रा आदि ।

लक्ष्मीप्रसाद देवकोटाका कविता सङ्ग्रहहरू
प्रकाशन मिति शीर्षक विधा
२००५ पहाडी पुकार कविता
२००९ पुतली कविता
२०१० भिखारी कविता
२०१० सुनको बिहान कविता
२०१२ छहरा कविता
२०१५ जन्मोत्सव र मुटुको थोपा ??
२०१६ मृत्युशैयाबाट कविता
२०२१ चिल्ला पातहरू ??
२०२४ गाईने गीतहरू गीत
२०२४ मनोरञ्जन कविता
२०२४ भावना गाङ्गेय ??
२०२४ आकाश बोल्छ ??
२०२६ छाँगासँग कुरा ??
२०३३ लक्ष्मी कविता सङ्ग्रह कविता
२०४० लक्ष्मी गीत सङ्ग्रह गीत

देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता सङ्ग्रहहरूमा ‘भिखारी’ कविता सङ्ग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिकृतिका रूपमा लिन सकिन्छ। उनको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता सङ्ग्रह’लाई, काव्य-खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्यलाई र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिकृति मान्न सकिन्छ। यसैगरी देवकोटाका बालकविताहरूका प्रतिनिधिकृतिका रूपमा उनका ‘सुनको बिहान’ र ‘पुतली’ बालकविता सङ्ग्रहलाई अघि सार्न सकिन्छ भने उनका हाँस्यव्यङ्ग्य कविताहरूको प्रतिनिधित्व उनको ‘मनोरञ्जन हाँस्यव्यङ्ग्य कविता सङ्ग्रहले अनि गीतिकविता वा गीतहरूको प्रतिनिधित्वचाहिँ उनको ‘लक्ष्मी गीति सङ्ग्रह’ले गर्छ भन्न सकिन्छ। यस सन्दर्भमा देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने ‘पहाडी पुकार’लाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाट्य ‘कृषिबाला’लाई पनि हामी बिर्सन सक्दैनौँ।

देवकोटा:विश्लेषण

श्यामदास वैष्णव देवकोटाको परिचय यसरी गर्छन् : लक्ष्मीप्रसाद देवकोटा अत्यन्तै प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो। नेपाली साहित्यमा धेरै कुरा रच्नुभयो उहाँले। बाल साहित्यदेखि महाकाव्यसम्म रचना गर्नुभयो। उहाँका कृति विश्वविद्यालयमा राखियो। देशको महाकवि भएर उहाँले धेरै ठाउँमा योगदान दिनु भएको छ, देवकोटाले भाषा अनुवाद संस्थानमा पनि काम गर्नु भएको थियो। त्रिचन्द्र कलेजमा पढाउनु भयो। एकेडेमी बनाउन मद्दत गर्नुभयो। धेरै समयपछि मन्त्रि पनि हुनुभयो। कवि सम्मेलनमा नेपालको तर्फबाट देश विदेश जानुहुन्थ्यो। उहाँको मृत्यु भने दुखद् तवरले भयो ।[४]

वैष्णवले थपे -“महाकविले भाषा अनुवादमा काम गरेर पुस्तक लेखेर अनि ट्युसन पढाएर पैसा कमाउनु हुन्थ्योे। तैपनि दुःख भने थियो ।” वैष्णवले भने, ‘तर बाटोमा गरीब देखे आफ्नो कोट नै फुकालेर दिन्थे पैसा बाड्दै हिँड्थे भन्छन् नि त्यस्तो भने होइन।”[४]

तस्बिरहरु