म रहे नरहे पनि

२०७५ पुष १८ गते १६:२३ Flashkhabar

म रहे नरहे पनि

बोक्लान् सौन्दर्यको भारी लाखौं फूलहरू फुली
खोज्लान् सुगन्ध आआफ्नै कस्तूरी वनमा डुली
निचोरी शैलको छाती दूधे झर्ना रसाउलान्
पोखेर वेदना आफ्नै न्याउली गीत गाउलान्

ऐना हेरेर फेवाको मुख बादलले धुँदै
अन्नपूर्णा चुली हाँस्लिन् किशोरीझैँ रमाउँदै
खेत बारीहरू नाच्लान् अन्न बाली फलाउँदा
खुुशी किसानले साँच्लान् श्रमको फल पाउँदा

बिहानै धरतीलाई वधूजस्तै सजाउँदै
हिमाली सिउँदो भर्ला सूर्यले मुस्कुराउँदै
सन्ध्या रँगाउली आफ्नो कलिलो मुख बेसरी
लाली चोरेर आमाको लाएकी बालिकासरि

व्योममा चँदुवाजस्तै टाँगिएर पलैपल
जलयज्ञहरू गर्लान् घुम्दै बादलका दल
तृष्णातरङ्ग बोकेर हिँड्लान् मान्छे सधैंभरि
महासागरमा मिल्न दौडिएका नदीसरि

ऋतुका वस्त्र फेरेर उड्लान् समयका चरा
खोज निर्माणले होलिन् अभिषिक्त सधैं धरा
लोकमा गुञ्जि नै राख्ला प्रीतिको मधुरध्वनि
सृष्टि यो रहला यस्तै म रहे नरहे पनि ।